प्रहरीको गोली लागी पत्रकार घाइते भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७५।११।०३


नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवं बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत पत्रकार सुनिरा मैनालीको प्रहरीको गोली लागी घाइते भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ झापा शाखाका अनुसार फागुन १ गते झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते हुनु भएको थियो ।

महासंघ नागरिकको सुरक्षामा खटिएका प्रहरीबाट गरिएको यो लापरवाहीको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य छेटु शेर्पा, महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोटालगायतको टोलीले पूर्वाञ्चल प्रहरी प्रमुख केदार रिजाल, झापा जिल्ला प्रहरी प्रमुख यमप्रसाद ढकाल, गृह मन्त्रालयका पदाधिकारीलगायतसँग छलफल गरी सो घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।


    रमेश विष्ट
    महासचिव

 डाउनलोड गर्नुहोस्