वार्तालगत्तै रेडियो परिसरबाट निस्कदै गरेका महासंघका सचिव र केन्द्रीय सदस्यसहित ९ जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७६।०५।३०

 

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारलाई नेपाल पत्रकार महासंघले पटकपटक पुनर्वहालीको माग गरे पनि सुनवाई नभएपछि महासंघका कार्यवहाक अध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा रेडियो नेपालको व्यवस्थापन पक्षसँग आज सो विषयमा वार्ता भएको छ । वार्ताबाट समाधान दिनेतर्फ गम्भीर नभई वार्तालगत्तै रेडियो परिसरबाट निस्कदै गरेका महासंघका सचिव र केन्द्रीय सदस्यसहित ९ जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयबाट निस्कदै गर्दा प्रहरीले हस्तक्षेप गरी रेडियो परिसरबाटै महासंघ सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, जन्मदेव जैसी, मीन बमसहित पत्रकारहरु अजयबाबु सिवाकोटी, दिलीप पौडेल, महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर र निष्कासित पत्रकारहरु प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेको छ । वार्ताका क्रममा रेडियो नेपाल व्यवस्थापन पक्ष गम्भीर देखिएन र वार्ता हुँदै गर्दा रेडियो परिसरभित्र प्रहरीको बाक्लो उपस्थिति गराइयो । सम्वादबाट समस्या समाधान गर्नुभन्दा प्रहरी प्रशसान लगाएर मुद्दालाई दबाउने राज्य पक्षको यो बदनियतपूर्ण कर्तुतको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ । एकातर्फ श्रमजीवी पत्रकारहरुलाई बिनाकारण निष्कासन गर्ने अर्कोतर्फ बार्ताका माध्यमबाट समस्याको खोजी गर्ने प्रक्रियालाई दबाउन प्रहरी परिचालन गर्ने दुबै कार्य श्रम अधिकार तथा प्रेस स्वतन्त्रताप्रति गम्भीर आक्रमण हो । महासंघ राज्यको यस्तो दमनकारी कार्यप्रति खेद व्यक्त गर्दै वार्ता अवरुद्ध गरी प्रहरी परिचलान गर्न संलग्न पक्षको पहिचान गरी कारबाही गर्न र पक्राउ परेका सबै पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

 

 

रमेश विष्ट

महासचिव

 डाउनलोड गर्नुहोस्