पत्रकार पाण्डेको रिहाईका लागि यथाशीघ्र पहल गर्न महासंघको माग

मिति : २०७८।१२।१४

वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर अपराधको उल्झनमा फसाउने काम गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालमा रहँदा जनवरी ८ (पुस २४) गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूताबासको संलग्नता रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएइको तल्लो अदालतले फेसबुक बन्द गर्ने, युएइमा रहेको सम्पत्ति जफत गर्ने, तीन महिना कैदमा राख्ने, २० हजार डिराम जरिवाना लगाउने र डिपोट गर्ने जस्ता ५ वटा सजायसहितको फैसला गरेको छ ।

महासंघले पत्रकार पाण्डेलाई पक्राउ गर्ने वित्तिकै उहाँको रिहाइका लागि पहल गर्दै आएको छ । सो क्रममा महासंघले पत्रकार पाण्डेको रिहाइमा पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासलाई आग्रह गरेको थियो । पत्रकार पाण्डेको रिहाइ र सजायका विषयमा नेपाल सरकारका तर्फबाट १४ दिनभित्र अपिल गरे पत्रकार पाण्डेमाथिको सजाय फुकुवा हुने थियो । तर, महासंघको आग्रहलाई बेवास्ता गर्दै सरकारको तर्फबाट यसप्रति कुनै चासो नदेखाउनु दुःखद हो । महासंघ सरकारको यो अकर्मण्यताप्रति खेद व्यक्त गर्दछ ।

सरकारले रिहाइको लागि कुनै पहल नगरेपछि पत्रकार पाण्डेले आफैंले युएईको अदालतमा अपिल गरेपछि उहाँको कैद छुट भएको र बाँकी अन्य सजाय यथावत छ । सरकारले उहाँको रिहाइका लागि अझै १÷२ दिनमा कुनै पहल नगरे उहाँ र हाल युएईमा रहेका उहाँका परिवारलाई ठूलो समस्या पर्ने महासंघ जानकारी गराउन चाहन्छ ।

पत्रकार पाण्डेलाई पक्राउ गर्न नेपाली दूतावास आफैंले युएई प्रहरीमा उजुरी गरेको पत्र पनि नेपाल पत्रकार महासंघमा प्राप्त भएको छ । उक्त पत्रको आधारमा युएईस्थित नेपाली राजदूत, डिसिएम र पिआरओको संलग्न भएको प्रष्ट हुन्छ ।

नेपालीको संरक्षण गर्नुपर्ने नेपाली दूतावास नेपाली नागरिकको संरक्षण र सम्वद्र्धनमा जुट्नु पर्नेमा नेपाली पत्रकारलाई पक्राउ गर्ने कार्यमा संलग्न भएको यो घटना अत्यन्त दुःखद् हुनुका साथै दूतावासप्रतिको विश्वसनीयतामाथिसमेत गम्भीर प्रश्न खडा गरेको महासंघको ठहर छ । 

कुनै पनि विषयमा आफ्नो विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । नेपालमा रहँदा लेखिएको स्ट्याटसको आधारमा युएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।

महासंघ यो घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकार पाण्डेको रिहाईका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदछ । साथै, पत्रकार पाण्डेको रिहाइका लागि महासंघ अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), कमिटी टु प्रोटेक्ट जर्नालिष्ट (सिपिजे), इन्टरनेसनल फेडेरेसन अफ एक्सप्रेसन एक्सचेन्ज (आइफेक्स), रिपोर्टर विथआउट बोडर्स (आरएसफ) लगायतका संघसंस्थालाई अपिल गर्ने जानकारी गराउन चाहन्छ ।

.......................
रोसन पुरी
महासचिव

 डाउनलोड गर्नुहोस्