महासंघ प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रर्वधन विभागको बैठक सम्पन्न: सञ्चार प्रतिष्ठानमा देखिएका पछिल्लो श्रम समस्याको अवस्थाको बारेमा समीक्षा

मिति : २०७९।०५।०७

नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रर्वधन विभागको बैठक विभागका संयोजक रमेश विष्टको अध्यक्षता तथा महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोसन पुरीको विशेष उपस्थितिमा बसेको छ । बैठकले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएका पछिल्लो श्रम समस्याको अवस्थाको बारेमा समीक्षा गर्याे ।

श्रम अधिकारका लागि महासंघमा प्राप्त उजुरी तथा निवेदनमाथि छलफल गर्दा महासंघले पटक–पटक देखिएका श्रम समस्या समाधानका लागि गरेको आग्रह जनता टेलिभिजन, नाइस टेलिभिजन, बोधी टेलिभिजन र इमेज टेलिभिजनलगायतका सञ्चार प्रतिष्ठानले अवज्ञा गरेकोले सम्बन्धित सञ्चार प्रतिष्ठानलाई एक हप्ताभित्र समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ । त्यस अवधिसम्म पनि सम्वन्धित सञ्चार प्रतिष्ठानले समस्या समाधान नगरेमा भदौं १५, १६ र १७ गते चरणबद्ध धर्नालगायतका संर्घषका कार्यक्रम सम्बन्धित सञ्चार प्रतिष्ठानमा आयोजना गर्ने गरी ठोस कार्यक्रम तय गरेको छ ।

कान्तिपुर टेलिभिजनले महासंघसँग गरेको सहमतिअनुसार त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र नागरिक दैनिकले कोभिड कालदेखि हालसम्म कटौती गर्दैै आइरहेको ३० प्रतिशत पारिश्रमिकसहितको नियमित पारिश्रमिकको सहमति तत्काल कार्यान्वयन गर्न महासंघले जोडदार माग गरेको छ । सम्बन्धित यी दुई प्रतिष्ठानलाई दुई साताभित्र महासंघसँग गरेको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय भएको छ । त्यस अवधिसम्म पनि सहमति कार्यान्वयन नगरेमा महासंघ निर्णय कार्यान्वयनका लागि संर्घषको बाटोमा जाने निर्णय गरेको छ ।

यसर्थ, महासंघ श्रम समस्या देखिएका श्रम प्रतिष्ठानहरुलाई अविलम्ब समस्या समाधान गर्न जोडदार माग गर्दछ । अन्यथा कानुनी र संर्घष दुवै बाटोमा उत्रने जानकारी गराउन चाहान्छौं ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्