समाचारको विषयलाई लिएर मकवानपुरमा पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सदस्यद्वय रामकुमार एलन र रमेश बञ्जरामाथि समाचारको विषयलाई लिएर मंसिर १८ गते आइतबार मकवानपुरस्थित पल्पसा सदनमा भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका २०/२२ जनाको समुहले पत्रकारद्वयमाथि आक्रमण गरेको थियो । पत्रकारमाथि आक्रमण भएपछि छुटाउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महसचिव कृष्ण सारुमगरमाथिसमेत उक्त समुहले आक्रमण र दुव्र्यवहार गरेको थियो । सो क्रममा महासचिव सारुमगर सामान्य घाइते भएको र पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको महासंघ मकवानपुर शाखाले जनाएको छ ।

समाचारको विषयमा चित्त नबुझे या कुनै गुनासो भए कानुनी उपचारमा जानसकिने विकल्पलाई छाडेर पत्रकारमाथि आक्रमणमा उत्रिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

..............

रोसन पुरी

महाचिव

 डाउनलोड गर्नुहोस्